काठमाडौ । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शर्माले बताउनुभयो ।
अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उहाले जानकारी दिनुभयो । संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान निधन भएको हो ।