कोशी सरकारविरुद्ध परेको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै


१९ भाद्र २०८०, मंगलवार ०७:३४ मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको थियो ।

कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here