लागुपदार्थ दुर्व्यसनले घरपरिवार तहसनहस बनाउँदैछः नगरप्रमुख प्रसाईं


१८ भाद्र २०८०, सोमबार १८:५५ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले लागुपदार्थ दुर्व्यसनले धेरै घरपरिवार तहसनहस बनाएको बताउनुभएको छ ।

सोमबार बिर्तामोड नगरपालिका कार्यालयको सभाहलमा आयोजित लागुपदार्थ दुर्व्यसनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले घरमा एक जना मात्र लागुपदार्थ दुर्व्यवसनी भए त्यो घरमा कहिले शान्ति नआउने बताउनुभयो । उहाँले जति नै भौतिक पूर्वाधारका कामले सम्पन्न बनाइए पनि नगर क्षेत्रका मानिसको घरमा शान्ति आएन भने भौतिक निर्माणको कामको कुनै अर्थ नरहने बताउनुभयो ।

नगरप्रमुख प्रसाईंले भन्नुभयो, ‘हाम्रो अबको दायित्व समाज जोगाउने हुनुपर्छ । लागुपदार्थ दुर्व्यसनले निम्त्याउने खतराबारे सबै सचेत हुन जरुरी छ ।’

बिर्तामोड नगरपालिकाको आयोजना तथा तीन वटा संस्थाको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख प्रसाईंले नगरपालिका कार्यालयको अबको अभियान लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यहीँ भारतीय सीमावर्ती बजारबाट यहाँसम्म लागुपदार्थ आइपुग्छ । सीमामा सुरक्षा जाँच हुन्छ । तर कसरी आइपुग्छ भन्ने कुरा नै अचम्मको छ । अब हामीले छिमेकी पालिकाहरूसंग पनि समन्वय गरेर यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’

पुनर्जन्म नेपाल, नारी सञ्चार गृह तथा समुन्नत नेपालले अन्तर्क्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा पुनर्जन्म नेपालका राजु गिरी, नारी सञ्चार गृहकी सावित्रा दाहाल र समुन्नत नेपालकी कोपिला बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका क्षेत्र भित्रका जनप्रतिनिधि, प्रहरी तथा कर्मचारीहरूको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here