इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीबाट धम्की आएको भन्दै भुटानी शरणार्थी नेता पौडेलद्वारा सुरक्षा माग


१८ भाद्र २०८०, सोमबार १३:५१ मा प्रकाशित

झापा । भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसंग माग गर्नुभएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर उहाँले पूर्व भुटानी शरणार्थी, हाल अमेरिकी नागरिकद्वय डिल्ली अधिकारी र भीम बस्नेतबाट आफूलाई धम्की आएको भन्दै जीवन सुरक्षाको माग गर्नुभएको हो ।

निवेदन बुझ्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सुरक्षा समितिको बैठक राखेर यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एक जना शरणार्थी नेताले जीवन सुरक्षाको माग गर्नु संवेदनशील विषय हो । हामी यो विषयलाई सुरक्षा समितिको बैठकमा एजेन्डा बनाउँछौं ।’

उहाँले तत्काल सुरक्षा चाहिए प्रशासन तथा नजिकको इलाका प्रहरी कार्यालयसंग समन्वय गर्न पौडेललाई आग्रह गर्नुभयो । उहाँले एक जना प्रहरी अधिकारीलाई फोन गरेर पौडेलसंग निरन्तर समन्वयमा रहन निर्देशनसमेत दिनुभयो ।

इन्ट्रा फाउण्डेसनले काठमाडौंमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गरेका बेला उक्त कार्यक्रमको अन्तिम एपिसोडको लाइभ ब्रोडकास्ट भएका बेला सोही संस्थाका अध्यक्ष डिल्ली अधिकारीले मन्तव्य दिनेक्रममा भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा निराधार कुरा गरेको पौडेलको भनाइ छ ।

पौडेलले निवेदनमा भन्नुभएको छ, ‘हामी नेपालमा आश्रितसँगै पुनर्वास भइसकेका भुटानीहरुको प्रतिनिधित्व गर्दै भुटान पिपल्स पार्टीको तर्फबाट अध्यक्षको नाताले म आफैंले मिति २१ अगस्त २०२३ मा एक विज्ञप्ति जारी गर्दै अधिकारीको कथन निराधार छ भनी त्यसलाई सच्याउन आग्रह गरेको थिएँ ।’

अधिकारीको मन्तव्यमा व्यक्त गरिएका कुराले अहिले भुटानी शरणार्थी समुदाय तरंग पैदा गरिदिएको पौडेलले बताउनुभयो ।

पौडेलले विज्ञप्ति जारी गरेपछि इन्ट्रा फाउन्डेसन अध्यक्ष अधिकारीले भीम बस्नेतलाई फोन गर्न लगाएर धम्कीको भाषा प्रयोग गर्दै ‘म तपाईंको शुभचिन्तक हुँ, तपाईंलाई अप्ठ्यारो नपरोस्, तपाईंले विज्ञप्ति सच्याउनु’ भन्दै कुरा गरेको पौडेलले बताउनुभयो ।

निवेदनमा पौडेलले उल्लेख गर्नुभएको छ, ‘अचानक गत बुधबार मिति ३० अगस्त २०२३ को मध्यान्ह अपरिचित मोबाइल नम्बर ९८२८७४३१६६ बाट मेरो मोबाइल नम्बर ९८४२६२३६९३ मा कल आयो । दोधार हुँदै मैले फोन रिसिभ गरेँ । त्यहाँ पुरुषको आवाज आयो । मैले चिनिन को बोल्नु भो भन्दा म पथरी शिविरको मानिस तपाईको परिचत हुँ भन्यो । मलाई त्यहाँको शिविर सचिवको जस्तो आवाज लाग्यो र चप्पासिंहजी हो भन्दा उसले म बीबी बस्नेत भनेर परिचय दियो । मैले सारै चिनेजस्तो नलागे पनि कुरा गर्दै जाँदा उसले विज्ञप्ति बारे कुरा अघि बढायो । सुरुमा उसले नरम प्रकारले बोल्दै केही अप्ठ्यारा कुरा गर्न थालेपछि मैले अर्को फोन लिएर उस्को आवाज रेकर्ड गर्न थाले । उसँग १६ मिनट ३६ सेकेन्ड कुरा भएको रहेछ तर रेकर्ड गरिएको भाग ८ मिनट ३९ सेकेन्डको मात्र छ । जुन अडियो रेकर्डसहित दुवै कार्यक्रममा डिल्ली अधिकारीले दिएको मन्तव्य, प्रेस विज्ञप्ति पनि यसै निवेदनका साथ पेश गरेको छु ।’

अधिकारीले बेलडाँगी शरणार्थी शिविरमा पनि त्यस्तै धम्कीको भाषा दोहोर्याएको पौडेलले बताउनुभयो ।

आफूलगायत शरणार्थी समुदाय बर्षौंदेखि उत्पीडनमा परेको र मानसिक यातना पाएकाले उक्त उत्पीडन तथा मानसिक यातनाबाट मुक्ति दिलाउन नेपाल सरकारसंग पौडेलले माग गर्नुभएको छ ।

उहाँले धम्की दिने र धम्की दिन लगाउनेउपर कानुनी कारबाही अगाडि बढाइदिन सरकारसंग माग गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here