गौर घटनाका पीडितहरुले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने प्रभु शाहको चेतावनी


११ भाद्र २०८०, सोमबार १९:५४ मा प्रकाशित

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरुले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको छ ।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षडयन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको हो । उहाँले गौर घटनाका पीडितसंग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भएपनि पछि हटेको जिकिर गर्नुभयो ।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत हुन नसकेको उहाँको भनाइ छ । साहले बिभिन्न प्रकरणहरु लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गर्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसंग रहे पनि ठूला व्यक्तिहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो । राजतन्त्र फाले पनि अहिले छोटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गर्नुभयो ।

उहाँले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने बताउनुभयो । साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनका लागि मात्रै भएको र भागवण्डामा एक हुने गरेको तर्क गर्नुभयो ।

उहाँले लोकतन्त्रमा कानूनी शासन हुने भए पनि संविधानलाई नेताहरुले खल्तीमा हालेर हिडेको जिकिर गर्नुभयो । सर्वोच्चले कोशीमा गैरसंवैधानिक काम भएको भनेपनि राज्य र दलहरु सचेत हुन नसकेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here