मेचीनगर ८ का सुन्दर किसानको हत्या कस्ले गर्यो ? के भन्छ प्रहरी ?


२ भाद्र २०८०, शनिबार १२:४२ मा प्रकाशित

झापा । झापा मेचीनगर–८ का सुन्दर किसानको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नातामा दाजु पर्ने ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानले सुन्दरको हत्या गरेर भारततर्फ भागेको र उनीहरूलाई नेपाल फर्काएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बिहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये ती दुईजनालाई नियन्त्रणमा लिएर बाँकी सबैलाई छाडिएको छ ।

प्रहरीले बिहीवार घटनास्थलबाट रड भेटेको थियो । शुक्रवार सोही ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको थियो । सो सिक्कल पक्राउ पर्नेहरुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

किसानको शव बिहीबार बिहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतक किसानले मजदुरी गरेर परिवार पालिरहेका थिए । उनी गाउँमै ज्याला मजदुरी काम गर्थे ।

आरोपितहरु र मृतकबीचमा लामो समयदेखि पारीवारिक रीसइवी रहेको र आरोपितहरुले सुन्दरलाई मार्ने नियतले बेलुकापख पैनीको कल्भर्टमा धारिलो हतियार (सिकल) र खन्तीसहित ढुकेर बसेका प्रहरीले जनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here