एमाले झापाद्वारा चैत मसान्तसम्ममा टोलदेखि जिल्लासम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण


२४ श्रावण २०८०, बुधबार १२:४९ मा प्रकाशित

झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा टोलदेखि जिल्लासम्मका अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरु चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिनुभयो ।

एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले गरेको कामको मूल्यांकन, सदस्यता नवीकरण, कमिटीहरुको अवस्था, पार्टीको कार्ययोजनाहरु बारे छलफल गर्दै सुझावहरु संकलन पनि गरेको छ ।

एमालेको स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरु, पाँचवटै निर्वाचन क्षेत्रका संयोजकहरु र १५ वटै पालिकाका इन्चार्जहरुको समेत उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्ययोजनामाथि छलफल गरेको थियो ।

बैठक सम्पन्न भएपश्चात विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष दिपक कार्कीले १९ हजार ५ सय ६७ सदस्यहरुले सदस्यता नविकरण गरेको जनाउनु भएको छ । उहाँका अनुसार १५ वटा पालिकाका सबै वडाहरुका सबै टोलमा सक्रिय कमिटी रहेका छन् ।

बैठकमा नेताहरुले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोशी प्रदेश कमिटीका नेताहरुले सुझाव समेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरु, जनप्रतिनिधिहरुको काम, पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक अवस्थाको बिषयमा नेताहरुले धारणा एवम् सुझावहरु राखेका थिए ।

बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिती, पार्टी केन्द्रीय कमिटीका फैसलाहरु र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरुका बिषयमा निर्देशनात्मक भनाइहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here