प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाए अवकाश


२० श्रावण २०८०, शनिबार ०७:१८ मा प्रकाशित

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाउनुभएको छ। संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको हो। 

प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्षको हुने संवैधानिक व्यवस्था छ। उहाँले अवकाश पाउनुअघि बिहीबार संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरिसकेको छ। आइतबारदेखि श्रेष्ठले नै कायममुकायमका रूपमा सर्वोच्च न्यायालयको नेतृत्व गर्नुहुनेछ। 

प्रधान न्यायाधीश कार्की लामो समय कायममुकायम भएपछि गत असार १ गते मात्र प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको थियो। २०७९ असोजदेखि नै उहाँले कायममुकायमका रूपमा सर्वोच्चको नेतृत्व गर्नुभएको थियो। उहाँकै नेतृत्वमा बनेका न्यायालय शुद्धीकरणसम्बन्धीका दुई प्रतिवेदन कार्यान्वयनमा आउने अपेक्षा उहाँको कार्यकालमा गरिए पनि पूरा हुन सकेन। 

उहाँ २०७३ साउन १७ गते सर्वोच्चमा नियुक्त हुनुभएको थियो। उहाँले कुल सात वर्ष तीन दिन सर्वोच्चमा कामकाज गर्नुभयो। सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुअघि कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। महान्यायाधिवक्ताबाट राजीनामा दिएर उहाँ न्यायाधीश नियुक्त हुनुभएको थियो। उहाँले नेपाल बार एसोसिएसनको अध्यक्ष पदबाट राजीनामा दिएर महान्यायाधिवक्ताको नियुक्ति लिनुभएको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here