झापा कारागारका कैदीबन्दीको विद्रोह, प्रशासन पछि हटेपछि स्थिति सामान्य


१९ श्रावण २०८०, शुक्रबार १८:४० मा प्रकाशित

झापा । झापा जिल्ला कारागारमा रहेका केही कैदीलाई सुनसरीमा रहेको झुम्का कारागार सरुवा गर्न लाग्दा झापा कारागारका कैदीबन्दीहरूले शुक्रबार विद्रोह गरेका छन् ।

अपराह्न ४ बजे सूर्योदय टेलिभिजनको टोली पुग्दा झापा कारागारको स्थिति तनावपूर्ण थियो । कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका हुन्।

कारागारभित्रै कैदी बन्दीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । सरुवा गर्न कैदीलाई कारागार भित्र छिर्न नदिने कैदीबन्दीहरूले कारागारभित्रैबाट इँटा तथा ढुंगा बर्षाएका थिए । टायर बालेर प्रदर्शन गरिएका कारण आगलागी हुने जोखिम भएकाले झापाका धेरै पालिकाहरूका दमकल तैनाथ राखिएको थियो ।

सरुवा गर्न लागिएका कैदी मनोज लावती झापा कारागारका चौकीदार हुन् । कारागार व्यवस्था विभागले चौकिदार लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि लावतीलगायत अन्य कैदीलाई लैजान प्रहरी कारागार भित्र जान खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।

कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने लावतीलाई कारागार भित्रै पठाइएको छ । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कैदी सरुवाको विषयलाई लिएर भएको विवाद साम्य भइसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार   अहिले लावतीलाई फेरी त्यहीँ राख्ने सहमति गरी स्थितिलाई सहज बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here