प्रस्तावित ६ जना राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन


१९ श्रावण २०८०, शुक्रबार ०८:१४ मा प्रकाशित

काठमाडौँ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । 

समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । 

संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदूतमा सुधीर भट्टराई, कुवेतका लागि आवासीय राजदूतमा घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स (यूएई) का लागि आवासीय राजदूतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो । 

सभापति कार्कीले प्रस्तावितहरुको सम्बन्धमा पाँच वटा उजुरी प्राप्त भएको र तीमध्ये तीन वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनुभयो । 

संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १९ अनुसार प्रस्तावित व्यक्तिहरुले प्रस्तावित पदका लागि आफ्नो योग्यता, अनुभव, अभिरुची तथा उक्त पदको जिम्मेवारी बहन गर्ने सन्दर्भमा आ–आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here