कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ


१७ श्रावण २०८०, बुधबार १८:२८ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले साढे ६ घण्टा समय सारेर पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

बुधबार बिहान साढे १० बजेका लागि तोकिएको सपथ ग्रहणको समयलाई बेलुका ५ बजे सारिएको थियो । सत्ता गठबन्धनको दोस्रो घटक माओवादीभित्र मन्त्री छान्ने विवाद चर्किंदा मुख्यमन्त्री थापाले तोकिएको समयमा सपथ लिन पाएनन् ।

गठबन्धनबीच भएको दिनभरको बैठकपछि भएको सहमति अनुसार सभामुखबाट राजीनामा दिएका माओवादी केन्द्रका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाउने सहमति भएपछि सपथ ग्रहण सम्भव भएको जनाइएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

मुख्यमन्त्री थापाले तोकेको मन्त्रीहरूको कार्य विभाजन बमोजिम उनीहरूलाई प्रदेश प्रमुख खापुङ्गले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

जवेगु र सुनुवार यसअघि पनि थापाकै नेतृत्वमा गठन भएको सरकारमा विना विभागीय मन्त्री नियुक्त भएका थिए । अघिल्लो सरकार गठनको सबै प्रक्रिया सर्वोच्च अदालतले बदर गरेपछि उनीहरु विना बिभागीयबाट बिदा भएका थिए । 

गठबन्धन दलहरुबीच अघिल्लो पटक मन्त्रालय सम्हाल्ने अवसर नै प्राप्त नगरेको भन्दै जवेगु र सुनुवारलाई मन्त्रीमा दोहोर्याएर पठाउने सहमति भएको जनाइएको छ ।

यता थापाले दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनीयताको सपथ लिएका छन् । असार २१ मा तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा दाबी पत्र पेश गरेका थापाको सरकारलाई सर्वोच्चले बर्खास्त गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here