कोशी प्रदेशः सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई अर्थमन्त्री उपहार


१७ श्रावण २०८०, बुधबार १८:३० मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेशमा गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमले आर्थिक मामिला तथा योजनामन्त्री उपहार पाएका छन् ।

कोशी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका गौतमले सपथ पनि लिएका छन् । गौतमलाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उनले हिजो विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको स्पष्ट पारेका थिए । उनले आफूले राजीनामा नदिने अडान राखेतापनि सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेर राजीनामा दिएको बताएका थिए ।

कोशीमा नयाँ सरकार गठनको लागि राप्रपाको साथ पाउने आशामा बसेको गठबन्धनले राप्रपाले आफू तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि राप्रपाको साथ नपाउने भएपछि गौतमलाई राजीनामा गर्न लगाएर बहुमतको सरकारको लागि दावी पेश गरिएको थियो ।

कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद संख्या आवश्यक पर्दथ्यो ।

सभामुख गौतमले राजीनामा दिएर गठबन्धनमा ४७ जना सांसद पुगेर बहुमत पुगेको थियो । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here