काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।
सिलवालले सोमबार मन्त्रीस्तरीय निर्णयबाट राखेपको जिम्मेवारी पाएका हुन् । गत असार ९ गते केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्त भएका सिलवालले सोमबार दिउँसो नै सपथ लिएका छन् । उनलाई खेलकुद मन्त्री जगतबाहादुर विश्वकर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् । सदस्यसचिवको जिम्मेवारी पाएपछि उनले आफू जागिर खान खेलकुद परिषद्को सदस्यसचिव नभएको बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिक आइरहेकाले भन्दै उनले आफूमाथि अवसर र चुनौती दुबै रहेको बताए । यसका लागि आफूले रुटिङ बनाएर काम गर्ने बताए । दुई पटक सरिसकेको साग आगामी मंसिर १५ देखि काठमाडौं र पोखरामा हुने तय छ । त्यसका लागि ठोस काम अघि बढेको छैन ।
सिलवाल यसअघि २०७२ मा राष्ट्रिय खेलकुद परिषदले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए । त्यसअघि २०६३ मा उनी क्यानको सदस्य थिए । उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए । सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष समेत हुन् । तत्कालीन एमालेका ओलीनिकट खेलकर्मीहरू मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध छन् ।





