मुख्यमन्त्री भएको २२ दिनमा बर्खास्तमा परेका थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त


१६ श्रावण २०८०, मंगलवार १८:०५ मा प्रकाशित

बिराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उहाँ माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मंगलबार नै पदबाट राजीनामा दिनुभएको हो ।

तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त थियो । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उहाँको नियुक्ति खारेज गरिदिएको थियो ।

थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।

कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । सरकार गठनको लागि सभामुखले राजीनामा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भए पनि विश्वासको मत लिन भने सहज देखिएको छैन ।

सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here