झापा । पहिरोले घर पुरिएर भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा नेपालीभाषी एक दम्पत्तीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्जिलिङ जिल्लाको पुबंग फाटक सुखियापोखरी बस्ने ६० वर्षीय कुमार लोपचन र उनका श्रीमती ५५ वर्षीया कुमारी लोपचन रहेको दार्जिलिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राती भारी वर्षापछि सुखियापोखरीमा पहिरो गएको थियो । माथिबाट खसेको पहिरो घरमा खसेको र घरभित्र रहेका लोपचन दम्पत्तीको पुरिएर मृत्यु भएको हो । घरभित्रै लोपचन दम्पती पुरिएपछि तत्काल प्रहरी र दमकल कर्मचारीले उद्धार गरेका थिए ।
उद्धार गरिएका उनीहरूलाई अस्पताल पुर्याएको र अस्पतालका चिकित्सकले मृत घोषणा गरिदिएको दार्जिलिङ प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको छ । पहिरोले सो क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुर्याएकोले त्यहाँको जनजीवन प्रभावित बनेको छ । घटनापछि दार्जिलिङका जीटीए अध्यक्ष अनित थापाले घटनास्थलको स्थलगत निरीक्षण गरेका थिए ।





