नेपाल आयल निगमद्वारा इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू


३१ असार २०८०, आईतवार १९:४२ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ ।

निगमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निणर्य गरेको जनाएको हो ।

स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

स्वचालित प्रणाली भएसंगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । मरासिनीले आइतबार मध्यरातीदेखि पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने र ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्ने जानकारी दिनुभयो । उहाँले स्वचालित मूल्य प्रणाली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने बताउनुभयो ।

त्यस्तै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले भारतीय आयल कर्पोरेशनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केहि ऋण तिर्न बाँकी रहेको बताउनुभयो । उहाँले अहिले भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम नै रहेको जानकारी दिनुभयो । थानीले हवाई इन्धनमा भने स्वचालित प्रणाली लागू नहुने र सञ्चालक समितिबाटै मूल्य निर्धारण हुने बताउनुभयो ।

इण्डियन आयल कर्पोरेशनसंग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोहि दिन मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here