लाखौं रुपैयाँका पटका नष्ट, सवारी साधन भन्सार बुझाइयो


४ आश्विन २०८१, शुक्रबार १५:०१ मा प्रकाशित

मेचीनगर । पटकाजन्य वस्तुले स्वास्थ्य, वातावरण तथा धनजनमा क्षति गर्छ । प्रशासनले पटकाजन्य वस्तुको ओसारपसार, विक्रीवितरण र पड्काउन प्रतिबन्ध लगाएको छ । तर, चाडपर्वका तथा मनोरञ्जनका नाममा त्यस्ता वस्तुको प्रयोग अत्यन्तै हुने गरेको छ । पटकाजन्य वस्तु हरेक वर्ष चाडपर्वका समयमा भारतका विभिन्न नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने गरेको पाइन्छ ।

पटका तथा पटकाजन्य वस्तुको आयातमा सरकारले प्रतिवन्ध लगाए पनि सुरक्षाकर्मीको आखाँ छलेर भारतका विभिन्न बजारबाट अवैधरुपमा यी वस्तु नेपाल भित्रिने गरेका छन् । खासगरी, खुला सीमाका कारण त्यसको फाइदा उठाएर कारोवारीले त्यस्ता वस्तु भित्रियाउने गरेका छन् । यस्ता अबैध गतिविधि नियन्त्रणका लागि सीमामा प्रहरीले त्यस्तामा निगरानी बढाएको छ ।

यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापाले मेचीनगर ६ काँकरभिट्टाबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका एकलाख अठार हजार आठ सय ६४ रुपैयाँ मूल्य बराबरको पटका नष्ट गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापाले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिसहित सामाजिक क्षेत्रका व्यक्तित्वहरुको रोहबरमा पटका नष्ट गरिएको जनाएको छ ।

भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा जिल्लाभित्र भित्रियाइएका प्रतिबन्धित पटका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिनुभयो ।

भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती सुजुकी कम्पनिको कारमा भारी मात्रामा त्यस्ता वस्तु हालेर भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्राप्त हुन साथ सादा पोशाकसहित अन्य प्रहरी परिचालन गरिएको थियो । प्रहरीलाई देख्न साथ कार छाडेर चालक फरार भएपछि शंका लागि खोली हेर्दा भारीमात्रामा प्रहरीले त्यस्ता वस्तु फेला पारेको हो । पटका नष्ट गरेर सवारी साधनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here