संसदमा गर्जिए लामिछाने र लिङ्देनः के यो संसद तीन दलको मात्रै हो ?


२५ असार २०८०, सोमबार १७:५१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दलले मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले तीन दलले इच्छा अनुसार सदन सञ्चालन गर्दा जनताका मुद्दाहरु ओझेलमा परेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पटक पटक विवादमा आउने गरेको भन्दै अभिव्यक्ति प्रकट गर्दा सजगता अपनाउन सुझाव पनि दिनुभयो । आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उहाँले बताउनुभयो ।

उहाँले रास्वपा प्रतिपक्षको भूमिकामा रहेर आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको भन्दै प्रमुख प्रतिपक्षको एजेण्डामा आफ्नो दललाई मुछ्ने जालसाजीपूर्ण क्रियाकलाप भएको जिकिर गर्नुभयो । लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूणर्समर्थन रहनेसमेत स्पष्ट पार्दै अन्तिम समयमा सदनमा मिटरव्याज सम्बन्धी कानून ल्याउनुको कारण माग गर्नुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेपनि यसअघिको सदनको बैठकमा नियम मिचेर प्रमुख प्रतिपक्षी र सत्तापक्षलाई मात्रै बोल्न दिएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले मिटरव्याज सम्बन्धी कानूनप्रति प्रतिपक्षीको विरोध रहेको भाष्य सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here