प्रीतम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्ति भावनात्मक थियोः प्रधानमन्त्री दाहाल


२५ असार २०८०, सोमबार १८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रीतम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्ति भावनात्मक भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रममा भावनात्मक रुपमा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्दै भावुकताका लागि आत्मसमीक्षा गरेको पनि बताउनुभयो । केही बर्ष अघि आफ्ना जेठी छोरी ज्ञानु क्यान्सरका कारण अप्ठेरो अवस्थामा पुगेका बेला प्रीतम सिंहले गरेको सहयोगलाई सम्झेर भावनामा बगेर नै मनमा आएका कुरा भनेको उहाँले बताउनुभयो । आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएका प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पार्नुभयो । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सदनमा जसले प्रस्ताव गरेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्यो, उसैले नै प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा आफूभित्र पनि केही प्रश्न उठेको जिकिर गर्नुभयो ।

उहाँले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिइ प्रश्न उठाउनु उपयुक्त नभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सदनमा कसैले भनेर आफूले राजीनामा नदिने भन्दै मनभित्रबाट आए तुरुन्त राजीनामा दिने पनि बतउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्नुभयो । उहाले आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको र अहिले प्रतिस्थापन बिधेयकमार्फत यसलाई अघि बढाउन खोजिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here