कोशी प्रदेशमा नयाँ सरकार बनाउन राप्रपा फकाउँदै गठबन्धन


१६ असार २०८०, शनिबार ०७:११ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्न बाँकी छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ । प्रदेश प्रमुखले कुनै पनि एकल दलको बहुमत नपुगे संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार दाबी गर्न आह्वान गर्ने प्रावधान छ ।

संविधानको १६८ को उपधारा २ मा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ भन्ने उल्लेख छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । हिजो प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उहाँ नेतृत्वको सरकार ढलेको छ । अब गठबन्धन दलहरुले राप्रपालाई साथमा लिएर नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका हुन् । तर नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने कि माओवादीले भन्नेमा विवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here