मुख्य अन्नबाली धानको उत्पादन बढाउनुपर्छः एमाले झापा इन्चार्ज भट्टराई


१५ असार २०८०, शुक्रबार १४:२४ मा प्रकाशित

झापा । नेपालीहरूले सबैभन्दा धेरै उपभोग गर्ने अन्नबाली धानको उत्पादन बढाउनु पर्नेमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीले आयोजना गरेको धान रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका झापा इन्चार्ज भट्टराईले नेपालको कूल ग्राहस्थ उत्पादनमा धानबालीको मुख्य भूमिका रहेकाले धानको उत्पादनलाई बृद्धि गर्न पनि राष्ट्रिय धान दिवसले सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघले युवा वर्गलाई कृषिमा आकर्षित गर्न पनि संघको अर्जुनधारा कमिटी र अनेम संघ अर्जुनधारा वार्ड कमिटीले एमाले वार्ड अध्यक्ष बीपी कोइरालाको खेतमा राष्ट्रिय धान दिवस आयोजना गरेको संघका केन्द्रीय सदस्य रोजिना पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार असार १५ गतेदेखि नै संघको चार महिने अभियान मिसन नेक्स्ट इलेक्सन, तार्गेट न्यु जेनेरेसन अभियान शुरु गरिएको छ । पाण्डेलाई झापा गाउँपालिका, गौरादह नगरपालिका तथा अर्जुनधारा नगरपालिकाका लागि उत्प्रेरकको रुपमा युवा संघले तोकेको छ ।

धान दिवसको विशेष कार्यक्रममा संघका पदाधिकारी तथा मातृ पार्टी नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीलगायत अन्य नेता/कार्यकर्ताको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here