काठमाडौं । झापाका पुराना बामपन्थी नेता द्रोणाचार्य क्षेत्री विचारले बामपन्थी भए पनि सबैका प्रिय नेता रहनु भएका नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य केशवकुमार बुढाथोकीले बताउनुभएको छ ।
बुधबार झापाको काँकरभिट्टामा आयोजित द्रोणाचार्य क्षेत्री स्मृति सभालाई सम्बोधन गर्दै द्रोणाचार्य क्षेत्रीको आचरण र बहुआयामिक प्रतिभाको अनुशरण सबै पार्टीका नेताले गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेस नेता बुढाथोकी द्रोणाचार्य क्षेत्रीका राजनीतिक सहयात्री हुनुहुन्छ । दिवंगत नेता क्षेत्रीका विचारलाई आफूले पनि अनुशरण गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
दिवंगत नेताहरूको त्याग र योगदानलाई वामपन्थी दलहरूले स्मरण गर्ने परिपाटि कांग्रेसले सिक्नुपर्ने नेता बुढाथोकीले बताउनुभयो । उहाँले झापाका पुराना अनेकौं कांग्रेसका दिवंगत नेताहरूको योगदानलाई नेपाली कांग्रेसले बिर्सिँदै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता बुढाथोकीले अहिले मुलुकको स्थिति राम्रो नरहेको बताउँदै सबैखाले बेथितिको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्ने तर्क गर्नुभयो । यो बेला देशमा द्रोणाचार्य क्षेत्री जस्ता नेताहरूको आवश्यकता खड्किएको उहाँले बताउनुभयो ।






