मेचीनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
बुधबार काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको स्मृति सभामा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट पोखरेललाई सम्मान गरिएको हो ।
जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार पोखरेललाई प्रदान गरिएको हो ।
सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रतिष्ठानका अध्यक्ष रविन कोइराला, द्रोणाचार्यका छोरा देवेन्द्र आचार्य लगायतले पोखरेललाई प्रदान गरेका थिए ।
पोखरेल रेडियो भिजनका प्रबन्ध निर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्यसमेत हुनुहुन्छ ।
यो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव विद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् ।
प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत भएका छन् ।
आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित चौतरीको वार्षिक साधारण सभामा हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टारबाट सम्मान गरिएको हो ।
सो पुरस्कारको नगद राशी जनही ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।






