पत्रकार महासंघ झापाले शुद्धीकरणको मापदण्ड मिचेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा


३२ जेष्ठ २०८०, बिहीबार १८:३८ मा प्रकाशित

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ ।

सदस्यता शुद्धीकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यस विरुद्ध आन्दोलनमा नै उत्रनु परेको प्रेस चौतारी झापाले जनाएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले पत्रकार महासंघ झापा शाखाले शुद्धीकरणका नाममा पूर्वाग्रही कामविरुद्ध आफ्नो संगठन आन्दोलनमा उत्रिएको बताउनुभयो । पत्रकार महासंघ झापाविरुद्ध प्रेस चौतारीका सदस्यहरूले बिहीबार हातमा कालोपट्टि बाँधेर महासंघकै कार्यालयमा धर्ना दिएका थिए ।

राजनीतिक आस्थाकै कारण महासंघको झापा नेतृत्वले प्रेस चौतारीलाई सडकमा उत्रिन बाध्य पारेको आचार्यले बताउनुभयो ।

शुद्धिकरणमा पर्नैपर्ने कतिपय गैर पत्रकारहरुको नामहरू सूचीमा नराखिनु तर निरन्तर पत्रकारितामा क्रियाशीलहरूलाई यो वा त्यो बहानामा शुद्धीकरण भन्दै सिफारिस गरिएकोमा प्रेस चौतारीको आपत्ति रहेको आचार्यले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here