चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुग्नुभएको छ ।
बुधबार दिउँसो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रचण्ड बुधबार मध्यान्ह नेपाल एयरलाईन्सको बिमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो भने नेपाली सेनाले सम्मान अर्पण गरेको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।
हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।
उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।






