काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसंग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।
बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन-आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसंग गठबन्धन र एकता नगर्ने स्पष्ट पार्नुभएको हो ।
उहाँले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको जिकिर गर्नुभयो । ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रित रहेको आरोप लगाउनुभयो ।
त्यस्तै अध्यक्ष ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताउनुभयो ।
ओलीले एमालेले सही बिचार लिएको र संगठन व्यापक भएपनि संगठनात्मक सुधार आवश्यक रहेको बताउनुभयो । एकतावद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरुले छाडेर गएका अभिभाराहरुलाई पूरा गर्न सकिने बताउनुभयो ।
२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा नेकपा एमालेले ‘मदन-आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकले मदननगरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए ।






