झापा । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनबाट आगामी कार्यकालका लागि केन्द्रीय समितिमा झापाका चार जना निर्वाचित भएका छन् ।
महाधिवेशनले वस्तुगत उपाध्यक्षमा झापाका हेमराज ढकाल निर्वाचित हुनुभएको छ भने केन्द्रीय समिति सदस्यमा अन्य तीन जना निर्वाचित भएका महाधिवेशनस्थलबाट बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिनुभयो ।
महाधिवेशनले केन्द्रीय समिति सदस्य पदमा झापाका उमेश डालमियालाई निर्वाचित गरेको छ । उहाँ यस अघि पनि केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो ।
महासंघको निर्वाचनबाट वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा राजकुमार कार्की ‘राजु’ निर्वाचित हुनुभएको छ । उहाँ अलैंची व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कुचो व्यवसायी संघका वर्तमान अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै जिल्ला/नगरबाट केन्द्रीय सदस्य पदमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्का पनि केन्द्रीय समिति सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।






