सिक्किमे नेपाली भाषीको पहिचानको आन्दोलनमा ‘ज्याक’


२९ चैत्र २०७९, बुधबार १५:२४ मा प्रकाशित

झापा । भारतको पहाडि राज्य सिक्किमका नेपाली भाषीहरू अहिले आफ्नो पहिचान गुम्ने स्थितिमा पुगेको भन्दै संगठन नै निर्माण गरेर आन्दोलित बनेका छन् ।

उनीहरूले ‘ज्याक’ अर्थात ज्वाइन्ट एक्सन कमिटी निर्माण गरेर अहिले आफ्नो पहिचानको खोजीमा आन्दोलित बनेका छन् ।

ज्याकले गत अप्रिल ८ तारिक सिङ्ताममा र्यालीको आयोजना गरेको थियो । तर त्यो र्यालीमा पूर्व सैनिक केशव सापकोटालाई मरणासन्न हुनेगरि कुटियो । उनको अहिले उपचार भइरहेको छ ।

सिक्किममा बसोबास गर्ने नेपालीभाषी समुदायलाई भारतको सर्वोच्च अदालतले “विदेशी मूलका” भनेर संज्ञा दिएपछि सिक्किमे नेपाली भाषी आन्दोलित बन्दै गए । तर सर्वोच्च अदालत उक्त परिभाषा सच्याए पनि फेरि पनि त्यस्ता परिभाषा आउनसक्ने भन्दै उनीहरू सशंकित छन् ।

उनीहरू आफ्नो अस्तित्व नै संकटमा पर्न लागेको भन्दै सडक तताउन थालेका हुन् ।

सिक्किमको करिब सात लाख जनसङ्ख्याको सबैभन्दा बढी हिस्सा नेपाली भाषीहरूको छ।

यहाँ करिब ७५ प्रतिशत नेपाली भाषी रहेको बताइन्छ।

एक दशकअघिको जनगणनाको तथ्याङ्कले सिक्किमको जनसङ्ख्याको ६२ प्रतिशत भन्दा बढीले नेपाली भाषा बोल्ने गरेको देखाएको थियो।

सिक्किमका ‘पुराना बसोवासी’हरूको आयकर छुट सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशमा सिक्किममा बसोबास गर्ने नेपाली भाषीलाई “विदेशी मूलका” भनेको थियो ।

अहिले त्यही आयकर छुट सम्बन्धी मुद्दामा ‘सिक्किमे’ को परिभाषा स्पष्ट हुनेपर्ने माग सिक्किमका नेपाली भाषीहरूको छ ।

सन् १९७५ भन्दा अघिदेखि सिक्किममा बसोबास गर्नेहरूको संस्था ‘एसोसिएसन अफ ओल्ड सेट्लर्स अफ सिक्किम’ले अन्य समुदायलाई प्रदान गरे जसरी नै आफूहरूलाई पनि आयकर छुटको व्यवस्था गर्न भारतको सर्वोच्च अदालतमा सन् २०१३ मा मुद्दा दर्ता गराएको थियो।

अदालते गत ज्यानुअरी १३ मा उक्त मुद्दामा फैसला गर्दै सिक्किममा बस्ने नेपाली भाषीलाई “विदेशी मूलका” भनी व्याख्या गरेको भारतका नेपाली भाषीहरूको भनाइ छ।

अहिले त्यही सिक्किमेमा कुन-कुन समुदाय पर्छन् भन्ने विषय राज्यको विधान सभामा पनि बहस भइरहेको छ ।

सिक्किम सरकारकै परिभाषा अनुसार त्यहाँ ‘भोटिया’, ‘लेप्चा’ र ‘नेपाली’ समुदायका मानिसहरूको बसोबास रहँदै आएको छ।

भारतको सर्वोच्च अदालतले भोटिया र लेप्चा समुदायका मानिसहरूलाई त्यहाँका आदिवासी भनेर परिभाषित गरेको छ।

ती समुदायले राज्य तथा केन्द्र सरकारबाट आदिवासी समुदायका मानिसहरूले पाउने कर छुटलगायत विभिन्न प्रकारका सुविधा पाउँदै आएका छन्।

सिक्किम भारतमा विलय हुँदा जमिनसंगै विलय भएकाले आयकर छुटमा आफ्नो पनि अधिकार भएको सिक्किमका नेपाली भाषीहरूले बताएका छन् ।

पहिला छुट्टै देश सिक्किम सन् १९७५ सालमा भारतमा विलय भएर भारतको २२ औँ राज्य बनेको थियो।

भारतमा विलय हुन अघिदेखि नै त्यहाँ भोटिया, लेप्चा तथा नेपाली समुदायको बसोबास रहँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here