वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ


२९ चैत्र २०७९, बुधबार ०७:२३ मा प्रकाशित

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ परेका छन्।

न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही कारण न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो। कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ। पतिले पत्नीको इच्छाविपरीत यौन सम्पर्क राखेमा उजुरी गर्न पाउने कानूनी व्यवस्था छ।

कपिलवस्तु जिल्ला अदालतमा दरबन्दी भएका न्यायाधीश गिरी डेढ महिनाअघि न्यायपरिषद्मा तानिएका थिए। विवादमा आएपछि गिरीलाई न्यायपरिषद्ले काजमा तानेको हो। पति गिरीले आफूमाथि जबरजस्ती करणी गरेको दाबीसहित दोस्री पत्नी आरती रावलले न्यायपरिषदमा पनि उजुरी दर्ता गरेकी थिइन्। गिरीले पहिलो पत्नीलाई अंश दिएर दोस्राे विवाह गरेका थिए। न्यायाधीश गिरीमाथि परिषद्ले पनि छानबिन गरिरहेको प्रवक्ता मानबहादुर कार्कीले बताए। ‘उजुरीमा छानबिन भइरहेको छ’, कार्कीले भने।

पति गिरीले आफूलाई बन्धक बनाएर कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाउँदै पत्नी रावलले कानुनी कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमा जाहेरी दिएकी थिइन्। न्यायाधीश गिरीलाई सोमबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। पक्राउ गरिएका न्यायाधीश गिरीलाई कपिलवस्तु नै पठाउने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here