बिर्तामोड नगरपालिकाद्वारा १० वटै वडाको जग्गा वर्गीकरण सम्पन्न


२२ चैत्र २०७९, बुधबार ११:४२ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

नगर प्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण कार्य सम्पन्न गरेको हो ।

बैठकले वडा नम्बर ६मा रहेको गिरीवन्धु टी–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका विषयमा सरकारको निर्णयका विरुद्व सर्वोच्च अदालतमा मुद्वा विचाराधिन रहेकोले हाललाई उक्त जग्गा वर्गीकरणमा समावेश नगर्ने निर्णय गरेको छ ।

वडा नम्बर ६ साविक अनारमनि गाविस वडा नम्बर १को बाँकी रहेका जग्गाको भने वर्गीकरण सम्पन्न गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

यस्तै यस अघि सम्पन्न भएको वडा नम्बर ७,८,९ र १० क्षेत्रमा पर्ने जग्गाहरुलाई भू–उपयोग नियमावली २०७९ र स्थानीय भू–उपयोग परिषद्ले तोकेको मापदण्डको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरि अनुमोदनसमेत गरिसकेकोले नियामानुसार कित्ताकाट गर्ने, उपभोग गर्ने तथा वेचविखन गर्न भूमि सुधार तथा मालपोत कार्यालयलाई सिफारिस गर्ने  बैठकले निर्णय गरेको छ ।

नगरपालिकाले वडा नम्बर ६को जग्गा वर्गाीकरण सम्बन्धि सूचना स्थानिय पत्रपत्रिका र आधिकारिक वेबसाइटमा प्रकाशन गर्ने छ ।वर्गीकरण अनुसार आवासीय क्षेत्रका जग्गामा सम्पति कर र कृषि क्षेत्रको जग्गामा मालपोत भूमिकर लागु हुने नगरपालिकाले जनाएको छ ।

बिर्तामोडको वडा नम्बर १ देखि ५ सम्मको जग्गामा भने यस अघिनै कित्ताकाट तथा किनवेच सुरु भईसकेको छ । बिर्तामोड नगरपालिका जग्गा वर्गीकरणको प्रत्रिया सम्पन्न गर्नेमा जिल्लाकै पहिलो पालिका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here