कोशी प्रदेश सरकारले प्रदर्शनमा मृत्यु भएका लाजेहाङको परिवारलाई तत्काल तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने


१३ चैत्र २०७९, सोमबार १४:४२ मा प्रकाशित

विराटनगर । विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदम बहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो । ‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछ,’ प्रदेश सरकारको निर्णयमा भनिएको छ, ‘तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने ।’

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ । यस्तै पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६, र प्रदेश वन ऐन २०७७ संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here