काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । शीर्ष तहमा छलफलपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारमा जाने दलहरुको टुंगो लागिसके पनि कसले कुन मन्त्रालय लिने भन्नेमा अन्तिम टुंगो लाग्न बाँकी छ ।
सत्ता गठबन्धनमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, कांग्रेस आठ,राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन,एकीकृत समाजवादी राज्यसहित ३,जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिने गरी छलफल भएको छ ।
संसदमा एक सिट भएका दलहरुलाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दवाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यहि चैत ६ गते संसदमा दोस्रो पटक विश्वासको मत पाएको ६ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । गठबन्धनमा रहेका दलहरुले तोकेर मन्त्रालयको संख्या दावी गरेपछि सहमति जुट्न सकिरहेको छैन् ।
जसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको छ ।