उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि शुरु


१ चैत्र २०७९, बुधबार ०७:२८ मा प्रकाशित

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताउनुभयो। 

निर्वाचन आयोग ऐन, २०७३ ले मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न नहुने व्यवस्था गरेको छ। निषेधको अवधि सुरु हुनुअघि उम्मेदवारले भेटघाट तथा एसएमएस प्रयोग गरी मत माग्नुभएको छ। 

निषेधको अवधिमा कुनै प्रकारको छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइने छैन। त्यसैगरी उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति प्रकाशन तथा प्रसारण नगर्न आयोगले आग्रह गरेको छ। 

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्को दुवै सदनका सदस्य तथा प्रदेश सभा सदस्य मतदाता रहने ८८२ जनाको निर्वाचक मण्डल छ। निर्वाचक मण्डलमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छन्। 

आयोगले राष्ट्रपतिको निर्वाचनभन्दा अगाडि नै फागुन १७ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता उपराष्ट्रपतिको निर्वाचनपछि चैत ५ गतेसम्म कायम रहने जनाएको छ। 

उपराष्ट्रपतिको निर्वाचनमा चार जना उम्मेदवार छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको उम्मेदवारी कायम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here