काठमाडौं । शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको छ ।
शनिबार बिहानै भक्तपुरबाट पक्राउ परेका लेखकलाई म्याद थपका लागि आइतबार कार्यालय खुले लगत्तै माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेस गर्ने छ । जेनजी आन्दोलनबारे अध्ययन गर्न बनेको गौरीबहादुर कार्कीको आयोगका सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकपछि लेखक पक्राउ परेका हुन् ।
शनिबार नै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ । उनी हाल टिचिङ अस्पतालमा उपचाररत छन्।






