बिर्तामोडका व्यापारीले सिडिओलाई बुझाए ज्ञापन पत्र, निर्बाध व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन दिन माग


२९ फाल्गुन २०७९, सोमबार ०७:४४ मा प्रकाशित

झापा । व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्दै नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार महासङ्घको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्ताल जस्ता कार्यले नेपाली अर्थतन्त्र तहस नहस हुने निश्चित भएको अवस्थामा बजार बन्द गर्ने कुरा जनविरोधी र निन्दनीय भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आर्थिक मन्दीकै कारण आयआर्जनमा परेको नकरात्मक असरका कारण आम्दानी घटेकोले बैंकको व्याज समेत तिर्न नसकेर व्यवसायीहरू आत्मदाह र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासङ्घले विरोधका अन्य वैकल्पिक उपायहरू अपनाएर बजार, यातायात तथा शैक्षिक संस्था बन्द गर्ने कार्य तत्काल फिर्ता लिई व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरणको माग गरेको हो ।

महासंघ नगर कमिटीको अनुरोधलाई वेवास्ता गरि बन्द हड्ताल जस्ता कार्य निरन्तर भइरहेमा बिर्तामोडमा सम्पूर्ण व्यवसायीहरूले त्यसको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी चुडामणि पौडेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here