आइसिसी क्रिकेट विश्वकप लिग–२ः नेपालले आज पपुवा न्यूगिनीको सामना गर्दै


२९ फाल्गुन २०७९, सोमबार ०७:३३ मा प्रकाशित

झापा । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलामा नेपालले आज पपुवा न्यूगिनी (पिएनजी) को सामना गर्दैछ । नेपाल र पिएनजीबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

सिरिजमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । जारी श्रृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ५५ तथा दोस्रो खेलमा यूएईलाई १७७ रनले हरायो । नेपाल पिएनजीविरुद्ध पनि जित निकाल्दै शीर्ष तीनमा स्थान बनाउँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राख्न चाहन्छ । 

अब दुई खेल जिते नेपाल विश्वकप छनोटमा पुग्नेछ । नेपाल अहिले ३४ खेलबाट ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । टोलीले अहिलेसम्म ३४ मध्ये १७ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ ।  

पुछारमा रहेको पिएनजीले ३४ खेलबाट ९ अंक जोडेको छ । उसले अहिलेसम्म ५ मा जित, २८ मा हार तथा एक खेलमा अंक बाँडेको छ ।

पिएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो लय कायमै राख्न चाहन्छ । उसले अघिल्लो खेलमा यूएईलाई ५६ रनले हराएको थियो । साथै, पिएनजी नेपालविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला पनि लिन चाहन्छ । 

यद्यपि नेपालविरुद्ध पिएनजीलाई जित निकाल्न सहज छैन । नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पिएनजीविरुद्धको खेलमा पनि नेपालले यूएईविरुद्धकै प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना उच्च छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here