शान्ति सेनामा जान अब भनसुन गर्नु नपर्ने


१८ असार २०७६, बुधबार १७:४९ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाभित्रको सबैभन्दा ठूलो आकर्षण शान्ति सेना हो । शान्ति सेनामा गएपछि आर्थिक स्थितिमा सुधार आउने आशाले सेनाका जवानहरू त्यसलाई ठूलो अवसर मान्छन् । तर यो अवसर सबै सैनिकलाई मिल्दैनथ्यो । राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुन सेनाभित्र भनसुन चल्थ्यो, सोर्सफोर्स लाग्थ्यो ।

पछिल्लो समय सेनाले भनसुनका आधारमा होइन रोलक्रमका आधारमा शान्ति सेनामा पठाउन थालेको छ । अब शान्ति सेनामा जान ११ वर्ष सेवा अवधि पुगेकै हुनुपर्ने प्रावधान राखिएको सैनिक प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए ।

यसअघि ६ वर्ष पुगेपछि सिपाहीहरूले शान्ति सेनामा भाग लिन पाउँथे । त्यसका पनि पहुँच हुनेहरू प्राथमिकतामा पर्थे । ‘शान्ति सेनामा जान सिपाहीहरूले लामो समयसम्म कुरेर बस्नु पर्ने अवस्थालाई व्यवस्थित गर्न केही प्रावधान परिमार्जन गरेर छनोट कार्यविधि लागु भएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने,‘अहिले जेष्ठताको आधारमा पठाउन सुरू गरिएको छ। भर्ना भएको समयका आधारमा शान्ति सेना पठाउने भएकाले अब कतै गएर भनसुन गरिरहन पर्दैन ।’

व्यवस्थित प्रावधान नभएका कारण कोही सिपाही दोहोर्‍याएर शान्ति सेनामा जाने गरेका थिए भने केही जागिर खाँदासम्म एक पटक पनि जान पाउँदैनथे । अब दोहोर्‍याएर शान्ति सेनामा जान २० वर्ष जागिर खाएको हुनु पर्ने नियम लगाइएको छ ।

यसअघि शान्ति सेनामा पठाउन सेनाका उच्च अधिकारीलाई कोटा छुट्टाइएको थियो । ‘पहिला आफूसँग नजिक भएका आधारमा जर्नेलहरूको सिफारिसमा पनि शान्ति सेनामा पठाइने गरिएको थियो,’ पाण्डेले भने,‘प्रधानसेनापतिलगायत सम्पूर्ण रथीवृन्दको समेत अब कोटा छैन ।’

शान्ति सेनामा पठाउने रोलक्रम मिलाउन नेपालभरिका सबै सैनिकको केन्द्रीय डाटा बैंक स्थापना भएको छ । त्यही आधारमा जेष्ठताको मापन गरिन्छ र छनौट गरिन्छ । यसअघि सेनाका युनिटहरूलाई शान्ति सेना जाने कोटा वितरण गरिन्थ्यो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेलगत्तै सैनिकहरूका गुनासा संकलन गरेका थिए । त्यसक्रममा सबैभन्दा बढी गुनासो शान्ति सेनामा भाग लिन चल्ने भनसुनबारे आएको थियो । अहिले विश्वका १२ देशका १३ मिसनमा ५ हजार ६३ नेपाली सैनिक कार्यरत छन् । उनीहरु १ वर्षका लागि मिसनमा जान्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here