आईसीसी विश्वकप लिग-२ः निर्णायक खेलमा नेपाल र यूएई


२८ फाल्गुन २०७९, आईतवार ०८:१४ मा प्रकाशित

झापा । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र यूएई निर्णायक खेलमा प्रतिस्पर्धा गर्दैछन्।

आजको खेल नेपाल र यूएई दुवैका लागि महत्वपूर्ण रहेको छ। आजको खेल जितेमा नेपालको आईसीसी एकदिवसीय मान्यता जोगिनेछ। नेपालले सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो।

अहिलेसम्मको अंक तालिकामा नेपालले ३३ मध्ये १६ खेल जितेर ३४ अंक बटुलेको छ। आज जित हासिल गरेमा ३६ अंक बनाएर अमेरिकालाई पछ्याउँदै एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ। अमेरिकाले सबै खेल खेलिसकेको छ भने ३५ अंक छ।

त्यस्तै, नेपालले विश्वकप क्वालिफायरमा छनोट हुन सबै खेल जित्नै पर्नेछ। अब बाँकी तीनै खेल जितेमा नेपालले ४० अंक बटुलेर नामिबियालाई पछ्याउँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अंक छ।

लिग-२ बाट शीर्ष स्थानमा रहेका स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। यो लिगबाट शीर्षस्थानमा रहेका तीन टोली विश्वकप क्वालिफायरका लागि छनोट हुनेछ।

त्यस्तै, विश्वकप क्वालिफायरबाट बाहिरिसकेको यूएईका लागि पनि एकदिवसीय वरियता जोगाउन यो खेल महत्वपूर्ण छ। अहिलेसम्म ३३ मध्ये १४ खेल जितेको यूएई ३१ अंक सहित छैटौं स्थानमा छ। यूएईले पनि एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here