आईसीसी विश्वकप लिग–२ः युएईमाथि नेपालको शानदार जित


२२ फाल्गुन २०७९, सोमबार १९:५२ मा प्रकाशित

झापा । आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालले शानदार जित दर्ता गरेको छ ।

सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको शानदार जित हात पारेको हो ।

जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अब चारमध्ये दुई खेलमा जित निकाले पर्याप्त हुने छ ।

दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेल जितकालागि २ सय ३० रनको लक्ष्य पछ्याएको युएई ४६ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो ।

४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई कट एण्ड बोल्ड गरेपछि नेपाल जित नजिक पुगेको थियो । दीपेन्द्रले लगत्तै अर्को कार्तिक मयाप्पन पनि कट एण्ड बोल्ड आउट गर्दै सहज जिततर्फ अघि बढाए । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए ।

ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

युएईमा नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम विदेशी सिरिज खेलेको हो । यसपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले फेरि युएई र पपुवा न्युगिनीसँग दुई दुई वटा एक दिवसीय क्रिकेट खेल्ने छ । जितसँगै नेपाल लिग तालिकाको पाचौं स्थानमा उक्लिँदा युएई छैटौं स्थानमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here