रोटरी क्लब अफ बिर्तामोडले दियो बिर्तामोड नगर अस्पताललाई ६ वटा डायलासिस मेसिन


२२ फाल्गुन २०७९, सोमबार २०:१३ मा प्रकाशित

झापा । रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो । डायलासिस मेसिनका साथै डायलासिस गर्ने कक्षमा चाहिने सबै उपकरण रोटरीले खरिद गरेर प्रदान गरेको हो ।

सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले डायलासिस कक्षको उद्घाटन गर्नुभयो । ती उपकरणहरू प्राप्त गरेसंगै मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बताउनुभयो ।

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चेको हो । यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिनुभयो । उहाँले यस्ता मानवीय सेवामा रोटरीले अझ खुल्ल ह्रदयले सहयोग गर्ने बताउनुभयो ।

उहाँले सहयोगबाट प्राप्त सबै उपकरण तथा डायलासिस कक्षको रेखदेखका लागि डा. लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा गरिने जानकारी दिनुभयो । बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुव शिवाकोटीको कार्यकालमा उपकरण खरिदका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ रोटरीलाई उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here