आज रातिदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध


२२ फाल्गुन २०७९, सोमबार ११:२० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ ।

आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहितासमेत जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here