काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। ओपनर कुशल भुर्तेल घाइते भएपछि उनको स्थानमा नेपालले तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ। प्रतिशले पपुवा न्युगिनीविरुद्धको खेलबाट डेब्यू गरेका थिए। ६ ओभर बलिङ गरेका उनले ३७ रन खर्चेर १ विकेट लिएका थिए।
समान ३१ खेल खेलेका युएई र नेपालको आजको खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ। आज पराजित हुने टिमको विश्वकप छनोट खेल्ने सपनामा पूर्णविराम लाग्नेछ।
विश्वकप छनोट खेल्न नेपाल र युएई दुवैले आजको साथै बाँकी ४ खेलमा जित निकाल्नु पर्नेछ। नेपालको ३० र युएईको ३१ अंक छ। तेस्रो नम्बरमा रहको नामिबियाको ३९ अंक छ।






