नेकपा एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठद्वारा पार्टी परित्याग गरेको घोषणा


१९ फाल्गुन २०७९, शुक्रबार १७:०१ मा प्रकाशित

झापा । नेकपा एमाले झापाकी उपसचिव तथा अधिवक्ता चन्द्र श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

शुक्रबार झापाको भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरेर भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुखसमेत रहनुभएकी श्रेष्ठले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । खासगरि झापाको क्षेत्र नं ३ मा पार्टी नेतृत्वले एमालेको अवस्थालाई कमजोर बनाएको भन्दै उहाँले पार्टीबाट अलग भएको बताउनुभयो ।

एमाले परित्याग गरे पनि तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने उहाँले बताउनुभयो । पार्टीभित्र काखापाखा गर्ने परिपाटीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्त निष्ट नेता कार्यकर्ताहरुलाई एकतावद्ध बनाई सुदृढ पार्टी संगठन निर्माणमा केन्द्रीय तथा जिल्ला कमिटी नेतृत्वको गम्भीर ध्यानाकर्षण गर्दापनि पार्टी नेतृत्व नसुनेको उहाँको आरोप थियो ।

पार्टीभित्र मजदुर किसान र श्रमजिवी वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दे गएको र पार्टी नीति भन्दा नेता प्रधान हुँदै गएको भन्दै आफूलगायत केही नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेको घोषणा गरेको श्रेष्ठले बताउनुभयो ।

एमाले परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं क्षेत्रीय कमिटी सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका कमिटी सदस्य हवालोदिन मियाँ तथा बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रहिम मियाँ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here