मध्यपूर्वको द्वन्द्वका बीच क्रोएसियाले दुई साताका लागि इन्धनको मूल्यमा सीमा तोक्यो


२७ फाल्गुन २०८२, बुधबार ११:३६ मा प्रकाशित


क्रोएसियाली सरकारले आफ्नो आधिकारिक खातामा एक घोषणा गर्दै मोटर इन्धनको मूल्यमा दुई साताको लागि सीमा (क्याप) तोकेको छ ।

मंगलवारदेखि लागू हुने नयाँ नियमअनुसार, साधारण पेट्रोलको मूल्य प्रतिलिटर ०.०४ युरोले बढेर १.५० युरो पुग्नेछ भने डिजेलको मूल्य ०.०७ युरोले बढेर १.५५ युरो प्रतिलिटर पुग्नेछ । यो तोकिएको मूल्य मार्च २३ सम्म लागू रहनेछ ।

प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारको प्राथमिकता स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्नु र नागरिक तथा व्यवसाय दुवैका लागि किफायतीपन कायम राख्नु रहेको बताएका छन् । मध्यपूर्वमा बढ्दो तनाव र होर्मुज जलडमरूमध्य हुँदै हुने निर्यातमा सम्भावित अवरोधका कारण विश्वव्यापी तेलको मूल्यमा वृद्धि भइरहेको बेला यो कदम चालिएको हो ।

होर्मुज जलडमरूमध्य एक प्रमुख नाका हो जहाँबाट विश्वको करिव २० प्रतिशत तेल ढुवानी हुने गर्छ । क्रोएसियाले हालैका वर्षहरूमा लगातार मुद्रास्फीतिको दबाब सामना गरिरहेको छ । रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न ऊर्जा संकटको समयमा २०२२ मा उच्च बिन्दुमा पुगेपछि, यहाँको उपभोक्ता मूल्य वृद्धि युरोजोनमै सबैभन्दा उच्च मध्ये एक रहेको छ ।

यसको परिणामस्वरूप, बढ्दो जीवनयापन खर्चलाई कम गर्न मद्दत पु¥याउन सरकारले पटक–पटक मूल्य सीमा र कर समायोजनहरू लागू गर्दै आएको छ । यसअघि अधिकारीहरूले जुलाई २०२५ मा छोटो समयका लागि यी उपायहरू हटाउनु अघि करिब तीन वर्षसम्म इन्धनको मूल्य नियन्त्रण गरेका थिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here