बिर्तामोड । बीरता लेडी जेसीजले नागरिक उड्ययनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङदेनलाई ‘उत्कृष्ट नारी सम्मान २०७९’ द्वारा सम्मान गरेको छ ।
प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले उत्कृट नारीका रुपमा लिङदेनलाई एक कार्यक्रमका विच सम्मान गर्नुृ भएको हो ।
११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला पाइलट लिङदेनलाई सम्मान गरिएको बीरता लेडी जेसीजले जनाएको छ ।
लेडी जेसीज पूर्व अध्यक्ष क्लवको अग्रसरतामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
उद्योगी रामकुमार लिङदेनकी छोरी जीनाले संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यबाट हवाई उड्डयनको क्षेत्रमा विशेष अध्ययन र प्रयोगात्मक तालिम समेत लिनु भएको छ ।
लिङदेन २०५८ सालदेखि पाइलटका रुपमा कार्यरत हुनु हुन्छ ।
नेपालको हिमाली तथा उच्च पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, ताप्लेजुङ जस्ता ठाउँहरुमा समेत सफलतापूर्वक उडान र अवतरण गराइसक्नुु भएकी लिङदेनलाई साहसिक महिला पाइलट रुपमा पनि लिने गरिएको छ ।
लिम्वू समुदायको पहिलो महिला पाइलटका रुपमा पनि जीनाको परिचय स्थापित छ ।
बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले प्राविधिक क्षेत्रमा आफूलाई अब्बल स्थापित गर्दै पाइलटका रुपमा काम गरेकी लिङदेनलाई सम्मान गर्न पाउँदा संस्थाको उचाई अझै बढेको बताउनु भयो ।
बीरता लेडी जेसीजले यसवर्ष उत्कृष्ट नारी सम्मानका लागि प्रतिभा छनोट गर्न तीन सदस्यीय समिति बनाएको थियो । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोलको संयोजकत्वमा गठित समितिले महिला पाइलट लिङदेनलाई सम्मानका लागि सिफारिस गरेको थियो ।
समितिमा बीरता जेसीजका पूर्व अध्यक्ष शेखर ढकाल र मेची क्याम्पसकी प्राध्यापक गायत्री सुवेदी सदस्य रहनु भएको थियो ।
प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरको व्यक्तित्व माथि नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यले प्रकाश पार्नुृ भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, छनौट समिति संयोजक लीला अनमोल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, समाजसेवी मेगेन्द्र लिङदेन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।






