स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक ५ लाख नेपाली गरिबीको रेखामुनिः तोसिमा कार्की


२६ फाल्गुन २०८२, मंगलवार १७:१५ मा प्रकाशित

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताउनुभएको छ । 


स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गर्नुभयो ।

नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उहाँको भनाई छ । उहाँले औषधि र स्वास्थ्य सेवा दुबैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उहाँले बताउनु भयो ।

यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाई छ । उहाँले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने बताउनु भयो । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उहाँको भनाई छ । उहाँले नेतृत्वमा ईच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानून संशोधनमा ढिलाई हुने गरेको बताउनु भयो ।

विक्री–वितरण आचारसंहिता लगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उहाँको भनाई छ । उहाँले ३५ वटा औषधि उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि आवश्यक स्वीकृति र नीतिगत निर्णय नहुँदा उत्पादन रोकिएर बसेको जानकारी दिनुभयो ।

उहाँले आगामी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक कानूनी सुधार गर्ने जानकारी दिनुभयो । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भुमिका निर्वाह गर्ने बताउनु भयो । 

उहाँले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही परिषद् र समितिले काम नगरेको गुनासो आएको बताउनु भयो । काम नगर्ने परिषद् तथा समितिलाई अब बन्ने सरकारले खारेज गर्ने र नयाँ बनाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here