नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारहरुले संचालन गरेका मिडियाहरुलाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष शर्माले नीति निर्माणको तहमा लैङगिकमैत्री दृष्टिकोण राख्नेहरु भए मात्रै महिला पत्रकारमैत्री वातावरण बन्नसक्ने अवस्था रहेको समेत बताउनु भयो । उहाँले महिला पत्रकारहरु सुरक्षित इकोसिष्टका लागि उनीहरुको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।
महिला पत्रकारहरुलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरुको घरले विशेष भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो । नेपालको पत्रकारितामा डिजिटल प्लेटफर्मको विकास भएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीहरुलाई सोहीअनुसार तालिमको व्यवस्था गर्ने काममा पनि विशेष जोड दिनुपर्ने बताउनु भयो ।
त्यस अवसरमा अध्यक्ष शर्माले नेपालमा पुरुष भन्दा पनि महिला पत्रकारहरु क्षमतावान भएको दाबी समेत गर्नुभयो ।






