बुधवार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसक्छः आयोग


२६ फाल्गुन २०८२, मंगलवार १८:४५ मा प्रकाशित


प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । 


मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताउनु भयो । उहाँकाअनुसार मंगलवार अपरान्हसम्म ३/४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ ।

जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताउनु भयो । यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ ।

त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि.सीले बताउनु भयो । उहाँले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताउनु भयो । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जि.सी.ले बताउनु भयो । 

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १८ सिट जित्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ९ सिट जितेको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने  एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । समानुपातिकतर्फ समेत राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here