काठमाडौँ । पुरानो गठबन्धन ब्युताएका चार दलबीच सरकारको नेतृत्व तीन पार्टीले आलोपालो गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिनु भयो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विषयमा सहमती जुटेको जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार २ वर्षसम्म जाने छ ।
त्यसपछिको दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताइएको छ । नेताका अनुसार कांग्रेसले राष्ट्रपति र जसपाले उप–राष्ट्रपति पाउने सहमति भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने परिस्थिति बनेको हो ।
पुस १० मा सात दलीय गठबन्धन बन्दा साढे २–२ वर्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
पुरानो गठबन्धन ब्युँतिएपछि सात दलीय गठबन्धनबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिने परिस्थिति बनेको छ ।
पुस १० मा सरकार बनाउन समर्थन गरेका जनता समाजवादी पार्र्टी, जनमत पार्र्टी र नागरिक उन्मुक्ति पार्टीसँगै लिएर जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
प्रचण्ड नेतृत्वको सरकारमा अब कांग्रेस, एकीकृत समाजवादी, लोसपाको इन्ट्री हुने भएको छ । पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेका कांग्रेस, एकीकृत समाजवादी र लोसपा सत्ता पक्षमा पुग्ने परिस्थिति बनेको छ ।






