काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरुको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताउनुभएको छ ।
बिहीवार सिंहदरवारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो भनाई राख्नु भएको हो ।
मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरुको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गर्नुभयो ।
उहाँले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरुको पनि ध्यानाकर्षण गराउनु भयो । उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।
मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरुको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पार्नुभयो ।






